अन्तराष्ट्रिय

भारतमा फेरी कोरोना बढेपछि धमाधम स्वदेश फर्किंदै नेपालीहरु ।

धनगढी, ७ चैत । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे।

‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि घर फर्किएका हौं। गत वर्षजस्तो सास्ती नहोस् भनेर यसपालि लकडाउन नहुँदै फर्किएको’, विकले भने। उनी गत वर्ष चैतमा लकडाउनका बेला एक महिनाभन्दा बढी भारतको पलियामा रोकिएका थिए।

‘त्यतिबेला भारतको पलियामा एक महिना रोकिनुपर्‍यो। परिवारसँग कुराकानी पनि हुन सकेन। खानपिनको व्यवस्था पनि राम्रो भएन’, उनले भने, ‘मरे पनि घरमै मरुँला भनेर आएका हामीलाई अर्काको देशमा जेल हालेजस्तै भयो। त्यसैले यसपालि हल्ला चल्नेबित्तिकै घर फर्केका हौं।’
उनले घरमा खेतीपाती भित्र्याउने समय भएको, चैते दसैं पनि आएकाले परिवारले घर आउन भनेपछि फर्किएको बताए। ‘लकडाउन भएन भने पछि एक÷दुई महिना खेतीपातीको काम गरेर फेरि गइन्छ’, उनले भने, ‘हैन भने हेरौं।’

नुवाकोटको तारकेश्वर–२ का रमेश परियार पनि शुक्रबार गौरीफन्टा नाकाबाटै घर फर्किए। परियार महाराष्ट्रको पुनामा होटलमा कुक काम गर्थे। त्यहाँ लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए। ‘त्यहाँ कोरोना फेरि बढिरहेको छ। त्यहाँको प्रदेश सरकारले लकडाउन गर्ने भनेर सूचना पनि जारी गरेको छ’, उनले भने, ‘साथीहरूले पोहोर सालको लकडाउनका बेला पाएको दुःख सुनेर यसपालि अगाडि नै घर आएको हुँ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *